पप स्टार केटी पेरी र उनका अभिनेता प्रेमी ओर्लान्डो ब्लुम अलग्गिएका छन् । ६ वर्ष अघि इन्गेजमेन्ट गरेका यो जोडी हालै अलग्गिएका हुन् । 

यो जोडी सन् २०१६ देखि नजिकिएका थिए । उनीहरुको ४ वर्षकी छोरी छिन् । जोडीको प्रतिनिधीले जारी गरेको विज्ञप्तीमा उनीहरु सह–अभिभावकत्वमा ध्यान केन्द्रीत गर्नका लागि धेरै महिनादेखि आफ्नो सम्बन्धलाई परिवर्तन गरिरहेका उल्लेख छ ।


‘उनीहरु परिवारका रुपमा सँगै देखिनेछन् । उनीहरुको साझा प्राथमिकता भनेको आफ्नी छोरीलाई माया, स्थिरता र पारस्परिक सम्मानका साथ हुर्काउनु हो । जुन काम सधैं रहीरहनेछ’, विज्ञप्तीमा भनिएको छ । उनीहरुको सम्बन्धका बारेमा केही समयदेखि चासो र चर्चा भइरहँदा अलग्गिएको विज्ञप्ती सार्वजनिक भएको हो ।


४० वर्षीया पेरी र ४८ वर्षे ओर्लान्डो सन् २०१७ मा अलग्गिए पनि केही समयपछि उनीहरु पुनः मिलेका थिए । उनीहरु सन् २०१९ को भ्यालेन्टाइन डेमा इन्गेज्ड भएका थिए ।


त्यसको एक वर्ष पछि केटीले आफ्नो सिंगल भिडियो ‘नेभर वर्न ह्वाइट’ सार्वजनिक गर्दै आफू गर्भवती भएको खुलासा गरेकी थिइन् । गर्भवती भएको केही समयपछि छोरी डेजी डोभको जन्म भएको थियो । पेरी र ब्लुम युनिसेफको सद्भाव दुत हुन् ।


पेरीले निकै कठिन समयमा ब्लोमसँग अलग्गिने निर्णय लिएकी छन् । उनको पछिल्लो एलबम ‘१४३’ र त्यसको गीत ‘वुमन्स वल्र्ड’ले उनका अघिल्ला गीत जस्तो राम्रो प्रतिक्रिया पाउन सकेको छैन । केटी यतिबेला सांगीतिक टुरमा छिन् । तर टुरको टिकटहरु उनको करियरकै सर्वाधिक कम बिक्री भइरहेको छ ।


पेरी र उनको महिला सेलिब्रेटीको समूहले गत अप्रिलमा ब्लु ओरिजिन स्पेस ट्रिप गरेका थिए । त्यो यात्राको चर्को आलोचना भएको थियो । त्यसबेला उनले आलोचनाले आफू ‘पीडित र चोटग्रस्त’ भएको प्रतिक्रिया दिएकी थिइन् ।


अमेरिकी गायिका पेरीले सन् २००८ मा रसेल ब्राण्डसँग विवाह गरेकी थिइन् । उनको ‘आइ किस्सड ए गर्ल’, ‘रोएर’, ‘क्यालिफोर्निया गल्र्स’, ‘फायरवर्क’ र ‘नेभर रिएल्ली ओभर’ जस्ता गीत हिट नम्बरमा पर्छन् ।


ब्लुमले यसअघि अष्ट्रेलियन मोडल मिराण्डा केरसँग विवाह गरेका थिए । यो जोडीबाट छोरा फ्लाइन जन्मिएका थिए । उनी हाल १४ वर्षका छन् । 


ब्रिटिस अभिनेता ब्लुमले ‘पाइरेट्स अफ द क्यारिबेन’, ‘द लर्ड अफ द रिङ्गस’ र ‘द होबिट’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।