यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ । नेपालको कला-संस्कृति र नेपालीहरुको वीरताको बखान गरिएको उक्त गीतमा कमल रसाइलीको पार्श्व गायन, शंकर अधिकारी घायलको शब्द रचना तथा विशाल चौधरीको संगीत रहेको छ । 


कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल लगायत प्रस्तुत छन् । भिडियोमा नेपालको झन्डाको प्रयोग अत्याधिक मात्रा गरिएको छ । निर्देशक नर प्रधान (मित्र)ले यो गीतले फिल्मको कथावस्तुलाई दर्शाएको बताएका छन् । 


ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको फिल्ममा नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतको पनि अभिनय छ । पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन तथा सौरभ लामाको छायांकन तथा बनिश शाहको सम्पादन छ । 


फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने जनाइएको छ । भुटानको शासकबाट लखेटिएर नेपाल आएका भुटानीको कथा पनि यसमा छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।