इलाम— वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारका क्रममा निधन भएको छ।
गत जेठ ५ गते दुबई पुगेका खतिवडा त्यहाँ मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए। असार ८ गतेदेखि सिकिस्त बिरामी परेपछि उनी अस्पतालमा भर्ना भएका थिए। सुरुमा सेतो रक्तकोषको कमी देखिएपछि उपचार थालिएको थियो। पछि निमोनिया समेत देखिएपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।
तर असार २८ गते, दुबईको एआई रोसिड अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको परिवारका लीलाधर खतिवडाले जानकारी दिए।
उनीमाथि गरिएको उपचार खर्च अत्यधिक भएकोले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका थिए। "हामीले लाखौं रुपैयाँ संकलन गर्यौं, तर लेखनाथलाई बचाउन सकिएन," लीलाधरले दुःख व्यक्त गरे।
परिवारका अनुसार, मृतक लेखनाथ खतिवडाको शव नेपाल ल्याएर साउन २ गते बिहान ९ बजे शुद्धिखोला (मालुम जाने बाटो)मा दाहसंस्कार गरिनेछ।
                    
                                        
                                                                                                
        








        




























