ढाका — बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार दिउँसो एक लडाकू विमान विद्यालयको भवनमा खस्दा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ। दुर्घटनामा १७१ जना घाइते भएका छन्, जसमध्ये ७८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

मृतकमध्ये २५ जना बालबालक रहेको पुष्टि भइसकेको छ। स्थानीय समय अनुसार दिउँसो १:१८ बजे बङ्गलादेश एयर फोर्सको सेभेन जेट लडाकू विमान ढाकाको उत्तर भागमा रहेको ‘माइलस्टोन स्कूल एन्ड कलेज’को भवनमा खसेको हो।

सीएनएनका अनुसार विमानमा यान्त्रिक गडबडी आएपछि पाइलटले नियन्त्रण गुमाएका थिए। पाइलटले जनघनत्व कम भएको क्षेत्रमा आपतकालीन अवतरण गर्ने प्रयास गरे पनि समयमै नियन्त्रण लिन नसकिँदा विमान सो विद्यालयमै खसेको जनाइएको छ।

यो घटनालाई बङ्गलादेशमा पछिल्ला केही वर्षयताकै सबैभन्दा भीषण हवाई दुर्घटना मानिएको छ। स्वास्थ्य मन्त्रालयका विशेष सहायक डा. सायेदुर रहमानका अनुसार घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ।

घटनापछि बङ्गलादेश सरकारले देशभर शोकको घोषणा गरेको छ। साथै विद्यालय, धार्मिक स्थल तथा सार्वजनिक ठाउँहरूमा प्रार्थना कार्यक्रम आयोजना गरिएका छन्।