काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संघीय अदालतले ठूलो झट्का दिएको छ। बुधवार एक संघीय अदालतले अमेरिकामा जन्मिने अवैध वा अस्थायी आप्रवासीका सन्तानलाई नागरिकता नदिने ट्रम्पको आदेशलाई असंवैधानिक ठहर गरेको हो।
तीनजना न्यायाधीशहरूको संयुक्त इजलासले ट्रम्पको आदेश अमेरिकी संविधानविपरीत रहेको निर्णय सुनाउँदै भनेको छ, “संविधानको उल्लंघन केवल राजनीतिक लाभको लागि गर्न सकिँदैन।”
यसअघि सियाटलस्थित जिल्ला न्यायाधीश जोन सी. कगनरले पनि उक्त आदेश कार्यान्वयनमा रोक लगाएका थिए।
ट्रम्प प्रशासनले अमेरिकी संविधानको १४औं संशोधन अन्तर्गतको 'सिटिजनसिप क्लज'लाई चुनौती दिएको थियो। उक्त संशोधन अनुसार, “जो कोही व्यक्ति अमेरिकामा जन्मन्छ वा कानुनीरूपमा नागरिकता प्राप्त गर्छ, ऊ अमेरिकी नागरिक मानिन्छ।”
ट्रम्प पक्षले 'अमेरिकी क्षेत्राधिकार' को व्याख्या गर्दै नागरिकता केवल जन्मले होइन, अभिभावकको कानुनी हैसियत पनि विचार गर्नुपर्ने तर्क गरेको थियो।
यता वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगनजस्ता राज्यहरूले अदालतमा दायर रिटमार्फत ट्रम्पको आदेशले देशमा द्विविधा र अराजकता निम्त्याउने चेतावनी दिएका थिए। उनीहरूको तर्क अदालतले स्वीकार गर्दै ट्रम्पको आदेश अमान्य गर्ने निर्णयलाई यथावत राखेको छ।
यद्यपि ट्रम्पद्वारा नियुक्त न्यायाधीश पैट्रिक बुमाटायले बहुमतको निर्णयसँग असहमति जनाउँदै भनेका छन्, “राज्यहरूलाई यस्तो मुद्दा दायर गर्ने कानुनी अधिकार छैन।” तर उनले आदेश संविधानसंगत हो वा होइन भन्ने विषयमा कुनै टिप्पणी गरेका छैनन्।
यो फैसलापछि ट्रम्प प्रशासन वा उनका समर्थकहरूले सर्वोच्च अदालतमा अपिल गर्ने सम्भावना रहेको बताइएको छ। तर हालका लागि उक्त आदेश निलम्बित रहनेछ र अमेरिकामा जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत रूपमा लागू हुनेछ।
यस विषयमा हालसम्म अमेरिकाभर नौवटा छुट्टाछुट्टै मुद्दा दायर भइसकेका छन्।





































