काठमाण्डौ । दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताएका छन ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउछन धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।