काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन्।
प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्की स्वर्गीय श्रेष्ठ, नगरकोटी र तामाङका शोकाकुल परिवारजनलाई भेट्न उनीहरूका परिवार रहेका स्थान क्रमशः काठमाडौं महानगरपालिका–१६ बनस्थली, नागार्जुन नगरपालिका–३ र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगर पुग्ने कार्यक्रम छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाए ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।
विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।