काठमाण्डौ । भारी वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ ।
जिप्रका काभ्रेले २०८२ असोज १६ गते जारी गरेको सूचना अनुसार असोज १६ गते देखि असोज २१ गते सम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ। यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागु हुनेछ ।
बाढी पहिरोको उच्च जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन भन्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सबै जिल्लावासी र सम्बन्धित निकायहरूलाई पूर्वतयारीमा जुट्न अनुरोध गरेका छन् ।