काठमाण्डौ ।  नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गरेर भनिरहेका छन् । प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ।

प्रहरीले ‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक/सहचालक महानुभावहरु, तपाईंहरुलाई यहाँबाट पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,’ धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।

शनिबार बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो । तर फेरि करिब ६ बजेतिर माथिबाट पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।