काठमाण्डौ । अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्। हेटौंडा हुँदै काठमाडौं आउने कान्तिलोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् । मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ। वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ।