काठमाण्डौ । लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ।
सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले अनुगमन र निगरानी गर्न आग्रह गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।