काठमाण्डौ । शनिबार बिहानैदेखि वर्षा निरन्तर बढी रहेका कारण खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरिएको छ ।

निरन्तर वर्षा भइरहने मौसम विज्ञको पूर्व अनुमानअनुरूप बिहान ४:०० बजे देखिनै पानी पर्न थालेको र रसुवाको भू–बनोट बढी भीर पाखा भएका कारण आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमका सम्भावनालाई मध्यनजर राखी स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो ।

सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान यदि जानै पर्ने जटिल अवस्था आएमा भरपर्दो साथीलाई साथसाथै लिई सुरक्षित तवरले यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेश पन्थीका अनुसार रसुवाको लाङटाङ, तिवारी, चिलिमेको रोङ्गा, मैलुङ, फलाखु , राम्चेको छहरे, धोबी, घट्टे, भाँगे, तोर्मे, भोटेकोशीसमेतका खोला एवं  त्रिशूली नदीसमेतका नदी खोलाहरूमा पानीको सतह बढ्न थालेको र सम्भावित भलबाढीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको हो ।

यात्रुवाहक बस तथा अन्य सवारीसाधन चलाउने सवारी चालकहरूले यात्रुलाई दिसा पिसाब गराउँदा समथर स्थानमा मात्र रोक्न समेत आग्रह गरिएको छ । पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नगर्नसमेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।