काठमाण्डौ  ।  शनिबार बिहान देखि परेको अविरल वर्षाले काठमाडौंका विभिन्न स्थानमा जोखिम बढेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त क्षेत्रहरूको अवलोकनमा खटिएको महानगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।

सोल्टी मोडको पश्चिमतर्फ मनमति खोलाले बाटो भासाएपछि नजिकैको बस्ती जोखिममा परेको छ। खोलाले घरसँग करिब पाँच फिट मात्र दूरी छाड्दा थप क्षति हुने आशंका बढेको महानगरले जनाएको छ।

महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले संयुक्त रूपमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास सुरु गरेका छन्। यस्तै, बस्तीमा डुबानको अवस्था आए नजिकैका विद्यालयमा सर्वसाधारणलाई सुरक्षित रूपमा सार्ने तयारी गरिएको छ।

सुरक्षाका लागि महानगरले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै आपतकालीन सम्पर्कका लागि हेल्पलाइन नम्बर १६६००१०५५११, ०१५९०१७६४ र ०१५९०१७६३ (महानगर प्रहरी) सार्वजनिक गरेको छ।