काठमाण्डौ । पछिल्लाे १२ घण्टामा वीरगञ्जमा सबैभन्दा बढी अर्थात १४३ मिलिमिटर वर्षा, बारा–रौतहटसहित मध्य तराईमा अति भारी वर्षा, उपत्यका र पहाडमा जोखिम बढ्यो ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावमा नेपालभर वर्षा तीव्र बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला १२ घण्टामा पर्साको वीरगञ्जमा सबैभन्दा धेरै १४३ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी बारामा १४०.४, रौतहटको गौरमा १२९ र महेशपुरमा १२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। विभागले बारा र पर्साको वर्षालाई अति भारी वर्षा को श्रेणीमा राखेको छ।
मध्य क्षेत्रलाई केन्द्रित गर्दै नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भइरहेको विभागले जनाएको छ। यस अवधिमा सिन्धुपाल्चोकदेखि दोलखा र काठमाडौं उपत्यकासहित १४ जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
यस्तै देशभरका पचासभन्दा बढी मापन केन्द्रहरूमा ३० देखि ५० मिलिमिटरसम्म वर्षा भएको विभागको तथ्याङ्कले देखाएको छ । महाशाखाका अनुसार बंगालको खाडीबाट आएको प्रणाली अझै सक्रिय छ र अर्को प्रणाली पनि विकास हुँदै गएकाले आज राति पनि धेरै स्थानमा भारी वर्षा हुने सम्भावना उच्च रहेको छ ।