असोजको ३१ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जेरीः अन टप’को तेस्रो गीत ‘आमैले भन्थे’ सार्वजनिक गरिएको छ । डान्सिङ बिटमा तयार पारिएको यो गीतमा विराज गौतम, राजेश पायल राई र अनु ढकालको स्वर, व्रिजेश श्रेष्ठ र विराज गौतमको शब्द तथा संगीत छ । 

सार्वजनिक गीतका फिल्मका मुख्य कलाकारहरू अनमोल केसी, भुवन केसी, आँचल शर्मा, केदार प्रसाद घिमिरे, उषा खडगीले नृत्य गरेका छन् । 

डान्सिङ नम्बरमा तयार भएको यो गीतको भिडियोमा अनमोल र आँचलले गज्जबको डान्स गरेका छन् । उनीहरुको केमेष्ट्री पनि फिल्ममा लोभलाग्दो देखिएको छ । 

अनमोलले डान्समा निकै नै मिहिनेत गरेको भिडियोबाट देख्न सकिन्छ । भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी, अनन्या न्यौपानेको लगानी रहेको यो फिल्ममा अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता हुन् ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।  विश्वास तिम्सिनाको पटकथा रहेको यो फिल्ममा नविन घिमिरे र विवेक थापा एसोसियट निर्माता, मोती कार्की क्रियटिभ निर्माता छन् । 

सरोज न्यौपानेको प्रस्तुतिमा अनन्या फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भएको हो । फिल्ममा जसिता गुरुङ, निर्मल शर्मा लगायतका कलाकारहरूको पनि अभिनय छ । 

दर्शकका लागि अनमोल, आँचल र जसिताको त्रिकोणात्मक प्रेम, भुवन केसी र अनमोल केसीको केमेष्ट्री, केदार प्रसाद घिमिरेको कमेडी विशेष हुने देखिन्छ । फिल्मले टिजरबाट नै निकै तारिफ पाइसकेको छ ।