बडा दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले पहिलो सातामै देशभर दर्शकको मन जित्न सफल भएको छ। आइतबारसम्म पनि करिब १ सय २० शोका साथ प्रदर्शन भइरहेकाले चलचित्रले दोस्रो हप्तामा पनि बलियो व्यापार गर्ने संकेत देखाएको छ।

वितरकहरूका अनुसार ‘बलिदान’ ले काठमाडौंका हलहरूसँगै धनगढीदेखि धरानसम्मका सिनेमा हलमा उत्साहजनक व्यापार गरिरहेको छ। कुबेर सिने डिस्ट्रीब्युसनका पुष्कर घिमिरेका अनुसार प्राविधिक कारणले केही समयका लागि पोखराको मिडटाउन हलबाट हटेको चलचित्र पुनः प्रदर्शनमा फर्किएको छ। उनले उपत्यका बाहिरको व्यापार सन्तोषजनक रहेको बताए।

काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीका अनुसार, पछिल्ला राजनीतिक र सामाजिक चुनौतीका बीच पनि ‘बलिदान’ ले नेपाली चलचित्र बजारमा नयाँ ऊर्जा भरेको छ। निर्देशक सन्तोष सेनले पनि प्रदर्शनको सुरुवाती व्यापारबाट सन्तुष्टि व्यक्त गर्दै छिट्टै आधिकारिक कारोबार विवरण सार्वजनिक गर्ने बताएका छन्।

पहिलो साताभर चलचित्र युनिटले दर्शकलाई भेटे । अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा र निर्देशक सेनसहितका कलाकार  विभिन्न हलमा दर्शक भेटघाटमा व्यस्त रहे। दर्शकको माया पाएपछि अभिनेता भट्टले भने, “लामो समयको मेहनतलाई दर्शकले यति माया गर्नु हाम्रो सबैभन्दा ठूलो सफलता हो।”

दर्शकहरूले भट्टको अभिनय र एक्सनलाई दमदार भन्दै उनलाई पछिल्लो पुस्ताको “एक्सन स्टार” को रूपमा चित्रण गरेका छन्। धेरै दर्शकका अनुसार चलचित्रमा देखाइएको आमा–छोराको सम्बन्ध, त्याग र प्रेमले गहिरो भावनात्मक असर पारेको छ। कतिपयको भनाइमा ‘बलिदान’ ले अहिलेको नेपालको यथार्थतालाई पर्दामा प्रभावकारी रूपमा उतारेको छ।

‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।