सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जना बालबालिका छन्।
रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको नेतृत्वमा टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।
सबै घाइतेहरूलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार, सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।