काठमाडौँ – भारतको उत्तर प्रदेशको पीलीभीत बीसलपुर थाना क्षेत्रको भडरिया मोड नजिकै सवारी दुर्घटना हुँदा तीन जना नेपालीले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ७ छ्यालका कार चालक गणेश सुनार, नरेन्द्रनाथ रोकाय र निखिल रोकाय छन् ।
सोही दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जली रोकायाको अस्पतालमा उपचाररत जारी रहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
उनीहरु सवार कार बग्रिएपछि सडक छेउमा रोकेर मर्मत गर्नेक्रममा तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । यो घटना शनिबार बिहान करिब ४ः४५ बजेको हो ।
मृतक सुनारले लक्ष्मी टूर एण्ड ट्राभल्स नामक सेवामार्फत भारतबाट नेपाल र नेपालबाट भारतसम्म यात्रुहरूलाई ओसारपसार गर्ने गर्थे । नरेन्द्रनाथ, अञ्जली र निखिल तिहार मनाउन नेपाल आउँदै थिए ।
दुर्घटनापछि भागेको ट्यांकर र चालकको खोजी जारी राखेको भारतीय प्रहरीले जनाएको छ।
मृतकका परिवारजन घटनाबारे अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने मागसहित भारतमै रहेको बताइएको छ ।