धनकुटा— धनकुटामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
बिराटनगरबाट जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइ राम यातायातको बस बुधबार धनकुटा नगरपालिका–३, निगालेमा दुर्घटना भएको हो।
दुर्घटनास्थलमै मृत्यु भएकी महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। अनुहार र शरीरमा मबिल लागेकाले पहिचानमा समस्या भएको बताइएको छ।
गम्भीर घाइते एक जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ भने उनकी पनि अझै पहिचान खुलेको छैन।
दुर्घटनामा ७ जना अन्य यात्रु सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
बस उकालोमा जाँदै गर्दा टायर पड्किएको आशंका गरिए पनि, दुर्घटनाको ठ्याक्कै कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।