आगामी कार्तिक महिनामा ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’को त्रिपक्षीय भिडन्त हुने भएको छ। यी तिनै फिल्म कार्तिकको तेस्रो हप्ता २१ गते प्रदर्शन हुँदैछन् । 

‘जारी २’ सुपरहिट ‘जारी’को दोस्रो शृङ्खला हो । यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल मुख्य भूमिकामा छन् । फिल्म निर्देशन उपेन्द्र सुब्बा हुन् ।

यो फिल्म पूर्वी नेपालको लिम्बु समुदायको ‘जारी प्रथा’को कथावस्तुमा आधारित छ । 

‘अभिमन्यु’ नेपाली र हिन्दी दुबै भाषामा रिलिज गर्ने तयारी छ । जेन-जी आन्दोलन र बाढी पहिरोले अभिमन्यूलाई यो मितिमा धकेलेको हो । ‘अभिमन्यु’ यसअघि तीन पटक प्रदर्शन सरेर अहिले यो मितिमा पुगेको हो । 

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देलको मुख्य भूमिका छ । सुशान्त गौतम निर्देशित फिल्म विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् ।

त्यस्तै ‘मन विनाको धन’ बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म हो । यसको निर्देशन टंक बुढाथोकीले गरेका छन् । 

फिल्मले ‘जिरोदेखि हिरोसम्म’ ट्यागलाइन बनाएको छ । सामाजिक विषयवस्तुमा आधारित फिल्ममा अशोकका अलावा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।

अशोक दर्जीले ‘मन विनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीतबाट लोकप्रियता कमाएका थिए, र अब यही कथावस्तुमा आधारित फिल्ममा उनी हिरोको रूपमा फर्किँदै छन्।

अब यसरी हेर्दा  यी तीन फिल्मको भिडन्त हुदा कुन फिल्मलाई दर्शकले रुचाउलान भन्ने कौतुहलता पनि अहिले उत्तिकै छ। तर, यी तीन फिल्म मध्ये दर्शकले कुन फिल्मलाई बढी रुचाउछन् भन्ने कुरा आगामी दिनमा नै थाहा हुनेछ।