दोलखा— जिल्लाको बैत्यश्वर गाउँपालिका–३, मिर्गे ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान घाँस काट्न गएका ५९ वर्षीय टेकबहादुर तामाङको भालुको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पछिल्लो केही महिनादेखि मिर्गे क्षेत्रमा भालुको गतिविधि अत्यधिक बढेको थियो। विगत दुई महिनाको अवधिमा चार जनाभन्दा बढी स्थानीयहरू भालुको आक्रमणमा परी घाइते भइसकेका थिए।

प्रहरी र वन विभागको टोली घटनास्थल पुगेको र भालुको निगरानी तथा नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ।

स्थानीयहरूले यस क्षेत्रलाई उच्च जोखिमयुक्त वन्यजन्तु प्रभावित क्षेत्रको रूपमा घोषणा गरी तत्काल नियन्त्रण उपायहरू गर्न सरकारसँग माग गरेका छन्।