काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ । दुबईको मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
लिग–२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो ।
पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ ।
आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।
दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार यूएईसँग भिड्ने तालिका छ ।
विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ६ अंक छ ।
तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।
२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
टी-२० विश्वकपमा स्थान बनाइसके पनि लिग-२ मा भने नेपालले संघर्ष गरिरहेको छ । नेपालको गत सिजन भन्दा खराब खेल चलिरहेको छ । २४ खेलबाट ३० अंकसहित स्कटल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ ।
ओमान २० खेलबा६ २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ ।






































