वीरगञ्ज  । जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘कुस्ती हाम्रो इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक हो । यसले युवामा अनुशासन, साहस, आत्मविश्वास र खेलभावनाको विकास गराउँछ । यस्ता खेललाई संरक्षण गर्नु भनेको हाम्रो मौलिक संस्कृति र पहिचानलाई जोगाउनु हो ।’

पूर्वमन्त्री यादवले स्थानीय तह,जनप्रतिनिधि, खेलकुद संघसंस्था र समुदायबीच सहकार्यको आवश्यकता औंल्याए ।

पूर्वमन्त्री यादवले आगामी दिनमा वीरगञ्जलाई प्रदेश तथा राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा विभिन्न स्थानबाट आएका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । दर्शकहरूको ठूलो भीडले खेलाडीहरूलाई उत्साहपूर्वक हौंस्याएको थियो । 

इनर्वा महाबीर मन्दिर संरक्षण समाज, पर्सा द्वारा आयोजित यो विराट कुस्ती प्रतियोगिताको उद्देश्य स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै समाजमा एकता र उत्सवमय वातावरण सृजना गर्नु रहेको जनाइएको छ ।

कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, खेलकुदप्रेमी तथा विभिन्न तहका समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।