काठमाडौं— इजरायलले मंगलबार राति गाजा क्षेत्रमा तीव्र हवाई आक्रमण गरेको छ। आक्रमण गाजा सहरका विभिन्न भागसँगै बेत ला र खान युनिस क्षेत्रमा समेत केन्द्रित भएको बताइएको छ। घर, विद्यालय र आवासीय भवनहरू समेत आक्रमणको लक्ष्य बनेका छन्।
हमासका स्वास्थ्य अधिकारी र सिभिल डिफेन्स एजेन्सीका अनुसार आक्रमणमा परी कम्तीमा ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।
इजरायली अधिकारीहरूले भने हमासले अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाएका छन्। रक्षामन्त्री इजरायल केट्जले हमासका लडाकुहरूले इजरायली सैनिकमाथि आक्रमण गर्नुका साथै बन्धकका शव फिर्ता गर्ने सहमतिलाई तोडेको दाबी गरेका छन्।
तर हमासले सो आक्रमणमा आफ्नो संलग्नता नरहेको र आफू युद्धविरामका लागि पूर्ण प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ।
यसअघि मंगलबार साँझ इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुको कार्यालयले सेनालाई ‘भीषण प्रतिकारात्मक कारबाही’ गर्न निर्देशन दिएको संक्षिप्त वक्तव्य जारी गरेको थियो। तर उक्त निर्देशनको ठ्याक्कै कारण भने सार्वजनिक गरिएको थिएन।






































