आजबाट रिलिजमा आएको फिल्म ‘परान’को बिहिबार प्रिमियर आयोजना गरिएको छ । फिल्मीकर्मी, पत्रकार र व्यवसायीक घरानाका मानिसहरूको बाक्लो उपस्थिति रहेको प्रिमियरमा फिल्मले निकै तारिफ पाएको थियो ।
फिल्मका मुख्य कलाकार नीर शाहले यसमा प्राण भरेका छन् । उनको अभिनयले फिल्मलाई पुरा अवधिभर बाँधेको छ । उनीसँगै जोडिएका अन्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा, वुद्दि तामाङको अभिनय पनि बुलन्द छ । फिल्म हेरेका अधिकांशले यो फिल्मको कथावस्तु, प्रस्तुति, संवादको खुलेरै तारिफ गरे । कलाकार नीर शाहको कामको सर्वत्र प्रशंसा भइरहेको छ ।
यो फिल्मले जीवनको उत्तरार्द्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्दछ । एक बाबुले आफ्नो सन्तानको नजिक रहन राखेको चाहना, सन्तानले चाहँदा चाहँदै पनि बाबु आमाबाट टाढा हुनुपर्ने वाध्यताको कथामा यो फिल्म बनेको छ ।
दीपक प्रसाद आचार्यको कथा र निर्देशन रहेको यो फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । फिल्म हेरेपछि प्रिमियरमा उपस्थित अधिकांशको आँखाबाट आँसु खसेको थियो । उनीहरुले निर्माताद्धय शेखर गोल्छा र रञ्जित आचार्यलाई उत्कृष्ट फिल्म बनाएको बधाई दिएका थिए । फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।






































