आजबाट रिलिजमा आएको फिल्म ‘परान’को बिहीबार साँझ ७ बजे प्रिमियर आयोजना गरियो । सिभिलमलस्थित क्युएफएक्समा साँझ ६ बजे अगाडि नै बोलाइएको प्रिमियरमा ४ सय ८५ जनाले फिल्म हेरे । हलको बीचको सोझा सिटमा बसेर आफ्नै फिल्म हेरिरहेका थिए अभिनेता निर शाह ।

उनको छेउमा महजोडी, अभिनेत्री पूजा चन्द, निर्देशक दीपक आचार्यको परिवार लगायत अन्य कलाकार थिए । फिल्मको जब मध्यान्तर हुने तरखर थियो अधिकांशलाई फिल्मले भावुक बनाइसकेको थियो । ‘परान’का मुख्य पात्र धर्मनाथ आचार्य अर्थात् निर शाहमा धेरैले आफ्नो बुबा देखेका थिए । जब मध्यान्तर भयो धेरैले आँखामा देखिएका टिलपिल आँसु पुछ्ँदै कफी र पपकर्नका लागी बाहिर निस्किए ।

अभिनेता निर शाहले पनि आफ्नै अभिनय हेर्दा पनि कतिखेर आँखाबाट आँसु झरेछ पत्तै पाएनछन् । दुबै हातले आँसु पुछे । सबैको ध्यान उनी तर्फ गयो । हामीलाई त रुवाउनु भयो नि निर राजा भन्दै धेरैले यस्तै छोटो प्रतिक्रिया दिँदै थिए । त्यतिकैमा शाहले भन्छन्, तपाईहरु मात्र हैन मै पनि रोएँ, धर्मनाथ भित्र डुब्न पुगेछु । अभिनेता शाहले आफ्नो अभिनय भएपनि पर्दामा आफूलाई नभएर धर्मनाथ पात्रलाई हेर्दा कतिखेर आँसु खस्यो पत्तै भएन भन्दै थिए । 

अनि आफ्नै पात्रले पनि रुवायो भन्दा निर शाह भन्छन, सुरुमा स्कृप्ट पढ्दा नै अलिक भावुक भएको थिएँ, पटक पटक छायांकनमा फरक अनुभूति गरायो । छायांकन पनि अहिले पुरा फिल्म हेर्दा त मैलाई धेरै ठाउँमा रुवायो ।

यस्तै निर्देशक दीपक प्रसाद आचार्यपनि आफ्नी आमासँगै बसेर फिल्म हेरिरहेका थिए । दिवंगत बुबाको स्मरणमा धेरै बेर भावुक बने । कलाकार प्रियंना आचार्य पनि बुबा आमा धेरै मिस भयो भन्दै निकै बेर भावुक बनिन् । प्रिमियरको सकारात्मक प्रतिक्रियाले भोलि शनिबारको शो बढ्ने अनुमान गरिएको छ । 

फिल्ममा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।