नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा पाँच दिने सामा–चकेवा मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला सुरु भएको छ ।

जनकपुरधामको मैथिली भवनमा बिहीबारदेखि उक्त कार्यशाला सुरु भएको हो । कार्यशालाको उद्घाटन गर्दै बेलायती अनुसन्धानकर्ता माइकल हटले मिथिला क्षेत्रको सांस्कृतिक गहिराई र सामा–चकेवालगायतका पर्वले सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बताउनुभयो । 

उहाँले सामा–चकेवा पर्वको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सकिने सम्भावनाबारे उजागर गर्नुभयो । कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै कार्यशालामार्फत पुस्तान्तरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

उहाँले गतवर्षदेखि थालिएको कार्यशालामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले महत्वपूर्ण साथ र सहयोग गरेको सुनाउँदै सामा–चकेवा पर्वमा बनाइने कलाले मिथिलाको पहिचानलाई विश्वमा चिनाउने धारणा व्यक्त गर्नुभयो ।

प्रशिक्षक तथा कलाकार रुवी पाठकले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्ति मिथिलाको कलात्मकता र भावनात्मकसम्बन्धको प्रतीक भएको उल्लेख गर्नुभयो । पाठकले कार्यशालामा स्थानीय कलाकार र विद्यार्थीलाई सामा–चकेवासम्बन्धी मूर्तिकलाको सांस्कृतिक तथा व्यावहारिक प्रशिक्षण दिइने जानकारी गराउनुभयो ।

मिथिला कलाकार सुधा कर्णले सामा–चकेवा पर्व र यसको महत्वका बारेमा चर्चा गर्नुभएको थियो । मूर्तिकला निर्माण कार्यशालामा २० जनाको सहभागिता छ । पाँच दिनसम्म चल्ने सो कार्यशालामा विज्ञका रूपमा कलाकार रुवी पाठक र विजय मण्डल रहनुभएको छ ।