केही फिल्ममा सह–नायिकाको रुपमा काम गरेपछि नायिका परीक्षा लिम्बुलाई ‘सोल्टिनी’ मुख्य नायिकाको रुपमा उदाउने ठूलो अस्त्र थियो । यो फिल्म उनी र नायक प्रकाश सपुतकै वरिपरी घुमेको छ । यसैले, पनि परीक्षा यो फिल्मलाई लिएर आशावादी थिइन् । तर, भाइटिकाको दिनबाट रिलिज भएपनि यो फिल्मले अपेक्षित शोज पाएन । 

शोज मात्र होइन, फिल्मको समीक्षा पनि सुखद आएन । फिल्ममा परीक्षाले भने राम्रो काम गरेको अपेक्षा गरिएको थियो । तर, परीक्षाको कामको पनि खासै चर्चा भएन । 

यसरी हेर्दा, फिल्म त असफल भयो नै परीक्षा पनि मुख्य नायिकामा चल्न सकिनन् । यसले, उनलाई सोलो नायिकाको रुपमा लिएर काम गर्दा जोखिम हुने देखिएको छ । 

हुनत, परीक्षाको फिल्मी लाइनअप बलियो नै छ । उनलाई लिएर केही फिल्मको घोषणा भइसकेको छ । परीक्षाले नयाँ फिल्म ‘हिमालयन गोल्ड’ साइन गरिसकेकी छिन् । यो फिल्ममा नायिका मेनुका प्रधान पनि छिन् । तर, परीक्षा नै मुख्य भूमिकामा देखिन लागेको सार्वजनिक तस्विरबाट पनि पुष्टि हुन्छ । 

परीक्षाले ‘पोखरेली मसिनो’ नामक फिल्ममा पनि काम गरिसकेकी छिन् । यी दुवै फिल्ममा उनी मुख्य नायिका हुन् । यसैले, उनलाई मुख्य नायिकाको रुपमा चल्ने अवसर छ । तर, पहिलो गाँसमा भने उनलाई ढुंगा लागेको छ ।