अमेरिकामा आयोजना गरिएको ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उत्पन्न विवादका बीच फ्लाई नेपा ट्राभल्सले गायिका एलिना चौहानले करारका सर्त उल्लङ्घन गरेको आरोप लगाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै चौहानले गलत जानकारी र अफवाह नफैलाउन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यदि अन्यायमा परेको महसुस भएको छ भने उहाँले कानुनी बाटो अपनाउन सक्नुहुन्छ। तर, सार्वजनिक रूपमा अनावश्यक अफवाह फैलाउनु अनुचित छ।’

फ्लाई नेपाका अनुसार चौहानसँग कार्यक्रमअन्तर्गत करार भएको थियो र धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न पनि भइसकेका थिए। तर बाँकी केही स्थानमा कार्यक्रम गर्नुअघि नै चौहानले करारविपरीत अन्य संस्थाबाट रकम लिएर प्रस्तुति दिएको भेटिएको भन्दै कम्पनीले बाँकी कार्यक्रम रद्द गरी उनी नेपाल फर्किएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कलाकार पक्षले करारमा रहेबमोजिम साथ दिनुपर्ने र आयोजकले पनि करारअनुसार सेवा–सुविधा दिनुपर्ने कुरा दुवै पक्षलाई थाहा थियो। तर करारविपरीत कार्य भएपछि बाँकी कार्यक्रम रद्द गर्नुपर्‍यो।’

अमेरिकामा रहेका बेला चौहानले आयोजकले आफूलाई ‘नोकरझैँ व्यवहार गरेको’ र कार्यक्रमको आम्दानीमा ८० प्रतिशत रकम आयोजकले आफैं राखेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी थिइन्। तर फ्लाई नेपाले ती आरोपहरूलाई ‘अफवाह र आधारहीन’ ठहर गरेको छ।

विवादका बीच चौहानले राप्ती सेवा समाज, न्युयोर्कको कार्यक्रममा निजी रूपमा भाग लिएर २५०० डलर लिएको रसिदसमेत सार्वजनिक भएको छ। यही कारण दुवै पक्षबीच मनमुटाव बढ्दै गएको बताइएको छ।

फ्लाई नेपा ट्राभल्सका सञ्चालक विनोद अधिकारीका अनुसार कम्पनीले कलाकारसँग पारदर्शी र करारअनुसारको व्यवहार गरेको दाबी गरेको छ। उनले भने, ‘हामीले सबै कलाकारप्रति सम्मानपूर्वक व्यवहार गरेका छौं। कुनै अन्याय भएको महसुस भए, त्यसको समाधान कानुनी बाटोबाट गर्न सकिन्छ।’