हेटौंडा— अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ६ वर्षपछि हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हुने भएको छ ।
एन्फाले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी गराएका थिए ।
उनका अनुसार एन्फा फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको सहभागिता रहेको छ । सहभागि टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।
लिगमा कोशीमा प्रदेशबाट गाईघाट फुटबल क्लब उदयपुर र देउराली युथ क्लब धनकुटा, मधेश प्रदेशबाट नव जागृति क्लब बारा, बागमती प्रदेशबाट चित्लाङ फुटबल क्लब काठमाडौँ र टाईगर्स टिम दोलखा, गण्डकीबाट हैरान्स क्लब तनहु र लालीगुराँस एसोसियन क्लब कास्की, लुम्बिनीबाट जनजागृति युवा क्लब बर्दिया, सुदुरपश्चिमबाट बिजय स्पोर्टस् क्लब कैलाली र कर्णालीबाट काक्रेविहार युथ क्लव सुर्खेत सहभागि छन् ।
उनका अनुसार प्रत्येक टोलीले ए डिभिजनका ३ र राष्ट्रिय टिमका २ जना गरी ५ जना खेलाडी समावेश गर्न पाउँदा विदेशी खेलाडी भने राख्न नपाउने भएको छ । लिगको सेमिफाइनलमा पुग्ने चार टोलीहरुले यसै वर्ष सञ्चालन हुने राष्ट्रिय लिग प्रतियोगितामा समेत सहभागि हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको प्रवक्ता शाहले बताए । यस प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङ्गको लागी हेटौंडा उपमहानगरभित्र २ वटा खेल मैदानको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको स्थानिय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहने छ ।
                    
                                        
                                                                                                
        








        




























