प्रभासको ‘बाहुबली’ फिल्म दर्शकले धेरै मन पराए । हालै यसका दुई भागलाई जोडेर ‘बाहुबली द एपिक’ रिलिज भयो । जसले सिनेमाघरमा राम्रो कमाइ गरिरहेको छ । अब ‘बाहुबली’को दुनियाँमा एउटा नयाँ अध्याय पनि जोडिने भएको छ ‘बाहुबली द इटरनल वार’ ।

मंगलबार निर्माण युनिटले ‘बाहुबली द इटरनल वार’ नामक एक एनिमेटेड फिल्मको टिजर सार्वजनिक गरे, जसले यस फ्रान्चाइजीको कथालाई एनिमेसनमार्फत देखाउनेछ ।

एनिमेटेड फिल्म ईशान शुक्लाले बनाएका हुन्, जो ‘स्टार वार्सः विजन्स’ र ‘द ब्यान्डिट्स अफ गोलक’ जस्ता प्रोजेक्टहरूका लागि चिनिन्छन् । टिजरमा ‘बाहुबली’को मूल कथाको झलक देखाइएको छ, जसले इन्द्रा र बाहुबलीबीचको कथालाई अगाडि बढाउँछ ।

टिजरले यो फिल्म बाहुबलीको शिव भक्तिमा आधारित हुने र यसमा ब्रह्माण्डसँग सम्बन्धित नयाँ तत्त्वहरू पनि देखाइने सङ्केत गर्छ । यो फिल्म ‘बाहुबली’ शृङ्खलाको पहिलो एनिमेटेड भाग हो ।

‘बाहुबली ः द इटरनल वार’ को कथा ‘बाहुबलीः द बिगिनिङ’ र ‘द कन्क्लुजन’ भन्दा फरक समय र दृष्टिकोणमा आधारित छ । यसले अमरेंद्र बाहुबलीको विरासतलाई नयाँ तरिकाले देखाउनेछ । यो एक ३ डी एनिमेटेड फिल्म हो । राजामौलीले एनिमेसन निर्देशक ईशान शुक्लासँग मिलेर यो कथालाई अनौठो तरिकाले प्रस्तुत गरेका छन् ।

फिल्मको बजेट १२० करोड भारु भएको राजामौलीले खुलासा गरेका छन् । यसलाई बनाउन अढाई वर्ष लागेको छ । प्रभास पनि यो प्रोजेक्टलाई लिएर धेरै उत्साहित छन् । २ मिनेट २७ सेकेन्डको टिजरमा शानदार एनिमेसन देख्न सकिन्छ । यो भारतीय सिनेमाको अहिलेसम्मकै सबैभन्दा महँगो एनिमेटेड फिल्महरूमध्ये एक हो ।