नेपाली फिल्म पत्रकारिताको इतिहासदेखि वर्तमानसम्म चित्रण गरिएको पुस्तक ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमान सम्म’ पुस्तक लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार भएको यो पुस्तकको काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित विभिन्न संघसंस्था फिल्मीकर्मीहरुले एकसाथ लोकार्पण गरे । 

व्यक्तिगततर्फ एक हजार र संस्थागततर्फ २५ सय रुपैयाँ मूल्य तोकिएको यो पुस्तकमा नेपाली फिल्मको इतिहासदेखि वर्तमान समेटिएको छ । 

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष डीसीले चलचित्र विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा खोजी पत्रकारिताले स्थान पाउनुपर्नेमा जोड दिएका थिए । 

चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यवसायीक तुल्याउँदै नयाँ पुस्तालाई सक्रिय बनाउन लागिपरेको दाबी गरे । यो कार्यक्रममा ‘चलचित्र पत्रकारितामा चलचित्र पत्रकारको खोजी’ विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । छलफलमा बोल्ने अधिकांश वक्ताहरुले चलचित्र पत्रकारहरूले कुनै निश्चित फिल्मको प्रचार नभई पत्रकारिताको सिद्धान्त बमोजिम स्वतन्त्र रिपोर्टिङ गर्नुपर्नेमा जोड दिएका थिए । 

यस्तै, यो कार्यक्रममा कलाकार केदार प्रसाद घिमिरेले चलचित्र पत्रकार संघ नेपालद्धारा संचालित ‘पत्रकार कल्याणकारी कोष’का लागि नगद २५ हजार नगद समेत सहयोग गरेका थिए ।