निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन् । बेलायतका विभिन्न शहरमा पहिलो चरणको छायाँकन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाँकन नेपालमा हुने निर्देशक चाम्सले बताए ।
उनले भने, ‘नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नवकलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आउनुभएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गर्नुभएको छ । चलचित्रमा उहाँको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो ।’
निर्देशक चाम्सले ‘सुम्निमा’ कुनै धर्म वा संस्कृतिसँग जोडिएको नभई विशुद्ध प्रेमकथामा तयार गरिएको चलचित्र रहेको बताए । उक्त चलचित्रमा नवअभिनेत्री गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायतका कलाकारले अभिनय गरेका छन् ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘सुम्निमा’ अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै तयार हुने निर्देशक चाम्सले बताए ।
‘हामीले बजार विस्तार र वृद्धिलाई सोचेर चलचित्र बनाउनुपर्छ । बजार र दर्शक बढाउने गरी हामीले काम गरेमा मात्र आगामी दिन चलचित्र क्षेत्रका लागि सुनौला हुनेछन्’, निर्देशक चाम्सले भने ।
यसअघि उनले निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’लाई बेलायतको एक चलचित्र भवनमा ‘आइम्याक्स’ प्रविधिमा विशेष प्रदर्शन गरिएको थियो । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा ढालेर प्रदर्शन गरिएको पहिलोपटक थियो ।
निर्देशक चाम्सले निर्देशन गरेको पछिल्लो चलचित्र ‘अञ्जिला’ सफल भएको थियो । उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको थियो ।






































