ललितपुरको पाटन यतिबेला कलामय बनेको छ । यहाँ फोटो सर्कलको आयोजनामा ‘फोटो काठमाडौँ महोत्सव’ भइरहेको छ । गत कात्तिक २८ गतेदेखि सुरु भएको महोत्सव मङ्सिर २८ सम्म सञ्चालन हुनेछ । महोत्सवमा पाटनका विभिन्न रोचक र ऐतिहासिक तस्बिरहरु अवलोकन गर्न सकिन्छ ।

यहाँ विशेषगरी युवा पुस्ताले महोत्सवमा प्रदर्शनका लागि राखिएका तस्बिरलाई रुतिपूर्वक अवलोकन गर्ने गरेका महोत्सव आयोजक संस्थाका प्रतिनिधि निशी रुङ्गटाले बताउनुभयो ।

महोत्सवका अवसरमा यहीबीचमा फोटोपत्रकार उषा तितिक्षुलाई ‘फोटो काठमाडौँ २०८२’ विशिष्ट सम्मान प्रदान गरिएको छ । सल्यानमा जन्मिनुभएकी तितिक्षुले सानै उमेरदेखि फोटोग्राफी गरिरहनुभएको थियो ।

सन् २००७ मा स्थापना भएको फोटो डट सर्कल कलाकारको नेतृत्वमा रहेको एक अन्तरविषयक सङ्गठन हो । यसले सामाजिक परिवर्तनमा संलग्न हुन दृश्य कथाकार, अनुसन्धानकर्ता, शिक्षक, अभियानकर्मी तथा अन्य सांस्कृतिक निर्माताका लागि स्रोतको सिर्जना गर्छ । फोटो सर्कलले नेपाल पिक्चर लाइब्रेरीको व्यवस्थापन पनि गरिरहेको छ, यस डिजिटल अभिलेखमा नेपालको बहुसांस्कृतिक पक्ष र बहुलवादी प्रतिनिधित्वलगायत विषय रहेका छन् ।