बाजुरा— उद्योग वाणिज्य संघ बाजुराले आगलागी पीडित प्रकाश थापालाई आर्थिक सहयोग गरेको छ । बाजुरा उद्योग वाणिज्य संघले आगलागीबाट भएको क्षति प्रति दुःख व्यक्त गर्दै राहत स्वरुप आर्थिक सहयोग गरेको हो ।

संघले राहत स्वरुप सहयोग संकलन गरेर ५१ हजार बढी आर्थिक सहयोग गरेको हो ।थोरै भए पनि राहत मिलोस् भन्ने उदेश्यका साथ संघको सहकार्यमा रकम हस्तान्तरण गरिएको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ ।

संकलित रकम आगलागी भएकै पसलमा पुगेर हस्तान्तरण गरिएको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए । उनले व्यवसायीहरुबाट संकलन गरेको ५१ हजार ६ सय ७० रुपैयाँ पीडित थापालाई हस्तान्तरण गरेको जानकारी दिए । 

यही मंसिर १७ गते दिउँसो सदरमुकाम मार्तडीका सफल व्यवसायी प्रकाश थापाको न्यू सागर ग्यारेज र ग्रील तथा फर्निचर उद्योगमा आगलागी भएको थियो । विद्युतको तार सट भएर पसलमा आगलागी हुँदा फर्निचर र  ग्यारेजका सम्पूर्ण सामान जलेर खरानी भएका थिए ।

बडीमालिका नगरपालिका–८ नयाँ बसपार्क जाने बाटो जिउलामा सञ्चालनमा रहेको थापाको फर्निचर उद्योगमा आगलागी हुँदा सम्पूर्ण सामाग्री जलेर नष्ट भएको थियो।कम्पेलेक्स डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा थापाले ठुलो क्षतीको सामना गर्नु परेको थियो।आगलागी अनुमानित करिब २ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।