काठमाडौं— नेपाल प्रज्ञा प्रतिष्ठान, लेखनाथ सभाकक्ष साहित्यकार रीता बलामीद्वारा रचित दुई कृति गजलसङ्ग्रह ‘आभासपुञ्ज’ र बालकविता सङ्ग्रह ‘बालमञ्जरी’ एक समारोहका बीच विमोचन गरिएको छ। रातोघर फाउन्डेसन र कार्डिनल इन्टरनेसनल बोर्डिङ हाइस्कुलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम वरिष्ठ कवि स्नेह सायमीको संयोजनमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरी बराल तथा विशिष्ट अतिथिहरूमा बालसाहित्य समाजका पूर्व अध्यक्ष प्रमोद प्रधान, वरिष्ठ गजलकार ललिजन रावल, साथै अन्य प्रतिष्ठित साहित्यकारहरूको उपस्थितिमा कृतिको औपचारिक लोकार्पण गरिएको हो।
समारोहको स्वागत मन्तव्य कार्डिनल स्कुलका प्रिन्सिपल रमेश के.सी.ले दिएका थिए। लामो समयदेखि शिक्षण पेशामा सक्रिय रहेका के.सी.ले बलामीको शिक्षण अनुभव, साहित्यप्रतिको लगन र सृजनशील क्षमताले यी दुई कृति एकैसाथ जन्मिएको भन्दै खुशी व्यक्त गरे। उनका अनुसार ‘बालमञ्जरी’ ले बाल–संवेदना र बाल–मनोविज्ञानलाई समेट्छ भने ‘आभासपुञ्ज’ मानवीय भावनाका विविध आयाम प्रस्तुत गर्न सफल छ।

कार्यक्रमका विशेष अतिथि ललिजन रावल, दक्षिणकाली नगरपालिकाकी कार्यवाहक उपप्रमुख बसन्ती डङ्गोल तामाङ, गीतकार एवं साहित्यकार बिरेन्द्र कुमार बलामीलगायतका व्यक्तित्वहरूले सर्जक बलामीलाई शुभकामना व्यक्त गरेका थिए।
बालकविता सङ्ग्रह ‘बालमञ्जरी’ माथि समीक्षात्मक मन्तव्य दिँदै बालसाहित्यकार तथा बालसाहित्य समाजका पूर्व अध्यक्ष प्रमोद प्रधानले बलामीका कवितामा बाल चेतना, सहज लय र मधुर प्रस्तुति पाइने उल्लेख गरे। उनले लामो साधनापछि मात्र कृति प्रकाशन गर्ने बलामीको वृत्ति कैयौँ अर्थमा सर्जकत्वको परिचय भएको बताए।
आफ्नो मन्तव्यमा रीता बलामीले फर्पिङ क्षेत्रका साहित्यिक गतिविधिहरूको स्मरण गर्दै परीवी जागरण समूह, स्नेह सायमी र लक्ष्मी मालीसँगको भेटले साहित्यिक यात्रामा ऊर्जा र मार्गदर्शन दिएको बताए। शिक्षण पेशाको लामो अनुभवले बालभावना, इच्छाएँ, समस्या र उनीहरूको भित्री संसार नजिकबाट बुझ्न मद्दत पुगेको र सोही अनुभूति ‘बालमञ्जरी’ मा प्रतिविम्बित भएको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बरालले बलामीका केही गजल वाचन गर्दै उनका गजलमा सौन्दर्य, विषयगत विविधता र मानवीय संवेदना उच्च स्तरमा प्रस्फुटित भएको टिप्पणी गरे। उनका अनुसार यी कृतिहरूले बलामीलाई शिक्षाविद् मात्र होइन, समाजसुधारक र संवेदनशील सर्जकका रूपमा चिनाउँछन्।
कार्यक्रमको अध्यक्षता गर्दै स्थापित कवि तथा रातोघर फाउन्डेसनका संस्थापक प्राज्ञ लक्ष्मी मालीले ८‘बालमञ्जरी’८मा कवयित्रीले आफूलाई बालबालिकाजस्तै बनाएर बाल–मनोविज्ञानलाई जीवन्तरूपमा प्रस्तुत गरेको बताए। त्यस्तै, ‘आभासपुञ्ज’ ले समाजका विसङ्गति, संघर्ष, पीडा र जीवनका भिन्न–भिन्न यथार्थलाई मार्मिक ढङ्गले उभ्याएको उल्लेख गरे।
समारोहमा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, वरिष्ठ साहित्यकारहरू भीष्म उप्रेती, राजेन्द्र शलभलगायत काठमाडौं उपत्यका र फर्पिङ क्षेत्रका लेखक–साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चारकर्मी दीपक लामिछानेले सञ्चालन गरेको कार्यक्रममा कार्डिनल र जुनकिरी स्कुलका विद्यार्थी तथा प्रशिक्षकहरूले प्रस्तुत गरेको नृत्यले वातावरण झनै रंगिन बनेको थियो।
साहित्यकार रीता वलामीका दुई किताब ‘आभासपुञ्ज’ गजलसङग्रह र ‘बालमञ्जरी’ बाल कबिता सङग्रह तपाईकोशप डट. कम अनलाइन सपिङ मार्फत किन्न सक्नु हुनेछ । अनलाइनमा प्राइज डिटेल र बिवरणहरु हेर्न किन्न र बेच्न समेत सकिने छ ।






































