गोरखा— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ । गएराति भएको आगलागीमा गुम्बामा रहेको ५० वटा कोठा त्यहाँ भित्र रहेका भाडाँकुडा लत्ताकपडा र सबै फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आगोलागीबाट गुरुसहित ६० जना लामाहरु बस्ने तीन तले आवास भवन पूर्ण रुपमा जलेर नष्ट भएको र करोडौंको क्षति पुगेको अनुमान गरिएको उनले बताए।
आगलागी कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेकाले स्थानीय, जनप्रतिनिधि र प्रहरीको संयुक्त उपस्थितिमा मुचुल्का गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनाका कारण र यसबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। रिपुम गुम्बा हजार वर्ष प्राचिन मानिन्छ । जलेको लामाको आवास भवन भने ४० वर्ष पुरानो भएकाले उक्त घटनबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखका नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।






































