बलिउड फिल्ममेकर विक्रम भट्ट र उनकी पत्नीलाई मुम्बई र राजस्थान प्रहरीको संयुक्त टोलीले आइतबार पक्राउ गरेको छ। उनीहरूमाथि उदयपुरका एक व्यापारीसँग ३० करोड भारु ठगी गरेको आरोप छ।

प्रहरी टोलीले मुम्बईको यारी रोड क्षेत्रस्थित गंगा भवन अपार्टमेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। राजस्थान पुलिसले अब उनीहरूलाई उदयपुर लैजानका लागि बान्द्रा अदालतमा ट्रान्जिट रिमान्डका लागि निवेदन दिनेछ।

राजस्थानको इन्दिरा ग्रुप अफ कम्पनीजका मालिक डा. अजय मुर्डियाले नोभेम्बर १७ मा विक्रम भट्टसहित आठ जना विरुद्ध ३० करोडको ठगीसम्बन्धी एफआईआर दर्ता गराएका थिए।

मुर्डियाको आरोपअनुसार, एक कार्यक्रममा उनको भेट दिनेश कटारियासँग भएको थियो। कटारियाले उनलाई पत्नीको बायोपिक बनाउने प्रस्ताव राखे र फिल्ममार्फत देशले उनकी पत्नीको योगदानबारे जान्न सक्ने बताएका थिए।

यस क्रममा, दिनेश कटारियाले अप्रिल २४, २०२४ मा मुम्बईस्थित वृन्दावन स्टुडियोमा अजय मुर्डियालाई बोलाएका थिए। त्यहाँ उनको भेट फिल्ममेकर विक्रम भट्टसँग गराइयो। बायोपिक बनाउने विषयमा छलफल भयो र फिल्म बनाउने सम्पूर्ण जिम्मेवारी विक्रम भट्टले लिने र मुर्डियाले पैसा पठाउँदै जानुपर्ने तय भएको थियो।

विक्रम भट्टले आफ्नी पत्नी श्वेताम्बरी र छोरी कृष्णा पनि फिल्म निर्माणसँग जोडिएको बताएका थिए। भट्टले आफ्नी पत्नी श्वेताम्बरीको फर्म भीएसबी एलएलपीलाई पार्टनर बनाएका थिए। उनीहरूबीच ‘बायोनिक’ र ‘महाराणा’ नामका दुई फिल्मका लागि ४० करोड रुपैयाँ को सम्झौता भएको थियो। कसरी भयो ठगी?

मे ३१, २०२४ मा विक्रम भट्टलाई २.५ करोड भारु आरटीजीएस गरियो। केही दिनपछि, ७ करोड रुपैयाँ माग गरियो र ४७ करोडमा ४ वटा फिल्म बन्ने र त्यसबाट १०० देखि २०० करोडसम्म मुनाफा हुने बताइएको थियो।

विक्रम भट्ट र उनकी पत्नीको भनाइमा अजय मुर्डियाले उनीहरूले बताएका भेन्डरहरूलाई अनलाइन भुक्तानी गरे। जुलाई २, २०२४ मा अजय मुर्डियाले इन्दिरा इन्टरटेनमेन्ट एलएलपी दर्ता गराए र यस फर्मको खाताबाट करिब ३ लाख रुपैयाँ भुक्तानी गरियो।

मामिलाको प्रारम्भिक अनुसन्धानमा, इन्दिरा इन्टरटेनमेन्टको खाताबाट भुक्तानी गरिएका भेन्डरहरू नक्कली रहेको पत्ता लाग्यो। भुक्तानी लिने भेन्डरहरू अटोवाला निस्केका थिए। भुक्तानीपछि रकमको ठुलो हिस्सा विक्रम भट्टकी पत्नीको खातामा ट्रान्सफर गरिने गरेको थियो।