काठमाडौं— गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निर्गमन सम्बन्धी प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीको साधारणसभा आगामी मंसिर २९ गते बिहान ११ बजे मोरङ्ग, विराटनगरस्थित होटल एयरपोर्टमा हुनेछन् । सभा प्रयोजनका लागि कम्पनीले सोही दिन एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर २८ गतेसम्म रहेका शेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।
हाल ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही बराबर अर्थात् ७५ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रद जारी गर्ने सम्पूर्ण अधिकार साधारणसभा मार्फत सञ्चालक समितिलाई प्रदान गरिनेछ ।
साधारणसभाले कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्ने, सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने तथा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नेछ ।
साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेका छन् ।




































