काठमाडौं— नयाँ बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विशेष निगरानी बढाएसँगै यात्रुलाई झोला तानेर दुःख हैरानी पुर्‍याउने ४६ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले गोँगबुस्थित बसपार्क क्षेत्रमा पटक–पटक यात्रुहरूलाई लक्षित गरी झोला तान्ने, जोरजबरजस्ती गर्ने तथा शंकास्पद गतिविधि गर्दै हिँड्ने व्यक्तिहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलका कर्मचारी समेतलाई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । राजधानी भित्रिएका यात्रुलाई लक्ष्य बनाएर उनीहरूले झोला तान्ने, अनावश्यक दबाब दिने जस्ता गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज मात्रै ४६ जनालाई नियन्त्रणमा लिइएको हो। “पहिलो चरणमा सम्झाइ–बुझाइ गरेर छाडेका थियौँ, तर गतिविधि नरोकेपछि कारबाही अघि बढाइएको हो,” एसपी भट्टराईले बताए। प्रहरीले यस्तो अभियानलाई निरन्तर रूपमा जारी राख्ने पनि जनाएको छ।