मोरङ— मोरङको रंगेली नगरपालिका–८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय २१ किलो ६ सय ६० ग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले खेतमा परालले छोपी लुकाई छिपाई राखिएको २९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–३ पान्द्राङबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.१७ च ४२ नम्बरको बोलेरो पिकअप गाडीको पछाडि ढालामा १७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार गाडी चालकको खोजी गरिरहेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।