महाकाव्यकार डा.नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ ।

ए क्युब प्रमोसनद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए। डा. भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन्।

कल्प महाकाव्य प्रकृति, संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए । डा. लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो ।

यसरी बाँसुरीसहित महाकाव्य लिएर डा. लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका थिए । आफैँ पनि लामो समय रेडियो प्रसारणमा बिताएका डा. लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।

ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । साहित्यकार डा. लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन्। उनका चार महाकाव्यसहित १० पुस्तक प्रकाशित छन् ।