महोत्तरी— मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले पछिल्ला तीन वर्षदेखि शिविर आयोजना गर्दै आएको हो।
यस वर्ष पुस ८ देखि १६ गतेसम्म नौ दिन चलेको शिविरबाट सात हजार ९०९ जनाले सेवा लिएका छन्। अत्याधिक चिसो मौसमका बाबजुद पनि नागरिकहरूको उल्लेख्य सहभागिता रहेको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार नगरपालिकाबाट दिइने विभिन्न सेवाहरू एकै ठाउँमा उपलब्ध गराइएकाले आम नागरिकलाई सहज भएको छ। यसले जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सम्बन्ध राम्रो बनेको उनले बताए।
शिविरमा सबैभन्दा बढी पशुपालक किसान लाभान्वित भएका छन्। दुई हजार ८४९ घरपालुवा पशुको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ। त्यस्तै दुई हजार ३०१ किसानले तरकारीका बीउबिजन लिएका छन्।
स्वास्थ्य सेवातर्फ एक हजार ६३२ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन्। आयुर्वेद कार्यालयबाट ८७१ जनाले जाँच गराई औषधि लिएका छन्। साथै १०६ ज्येष्ठ नागरिकले परिचयपत्र बनाएका छन् भने ८८ जनाको स्वास्थ्य बिमा गरिएको छ।
शिविरमार्फत ६२ वटा व्यक्तिगत घटना दर्ता गरिएको छ भने तीन जना अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पनि बनेको नगरपालिकाले जनाएको छ।






































