- देशबन्धु क्षेत्री
कुनै देश
युवाको
जोशले मात्र
जन्मिएको छैन,
र कुनै राष्ट्र केवल वृद्ध अनुभवीको सोचले मात्र
टेकेको छैन।
इतिहासका पृष्ठहरू हेर्नु—
जहाँ उत्साह, धैर्यता, चुनौती र सम्झनाको मिलन छैन,
त्यहाँ परिवर्तनले पाइला चाल्दैन।
युवा आउँछन्, आगोका
मुस्ला बोकेर ।
हृदयमा सपना, आँखामा
चुनौती लिएर ।
सस्तो नभएको विश्वास, असम्भवमा प्रयास गर्ने साहस टेकेर ।
यिनको कदमले हिउँ जस्तो जमेको समाजमा
भूकम्प ल्याउँछ,
नयाँ प्रविधि,
नयाँ सोच,
नयाँ गन्तव्य खोज्छ।
तर युवा भए—
त्यो जलन,
त्यो उन्माद,
सधैं तातो तर अस्थिर रहन्छ।
बृद्ध आउँछन्, धैर्यका धागो उनेर ।
समयले पिघालेको स्मृति,
इतिहासले सिकाएको
पाठ पढ़ेर ।
संघर्षको घाउ, गल्तीको शिक्षा, अवसर र
सीमा बोध
स्वीकारेर ।
तिनीहरू
बिना युवा
उर्जा जस्तो हावा—
उत्साह त छ,
तर दिशा हराउँछ।
संसारका कुनै देशको विकासमा एउटै पुस्ताको शासनले मात्रै सफलता
पाएको छैन।
युवा र बृद्ध —दुवैको संवादमा जीवनको ताल र लय बन्छ।
समाजहरू, संस्कृति, नियम र मूल्यहरू
यो संवादका माध्यम हुन्छ ।
अन्तराल र विचारहरूको
मेल बिना, प्रगतिको
डोर कट्छ,
सामाजिक सन्तुलन हराउँछ,
र भविष्य
अप्ठ्यारो हुन्छ।
युवा र बृद्ध बीचको यो संवाद,
कविताजस्तो जीवनमा लयको रूपमा बग्छ।
उत्साह र अनुभूतिको मेल,
संघर्ष र परिश्रमको समन्वय रहन्छ ।
कसैले
अगाडि बढाउँछ, कसैले
सोच्न लगाउँछ।
युवाको जोश र बृद्धको अनुभव,
सिर्जना र संरक्षण
दुवैले मिलेर मात्र राष्ट्रको
भविष्य बनाउँछ।
युवाले चुनौती दिन्छ पुरानो नियमलाई प्रश्न गर्छ।
बृद्धले जवाफ दिन्छ
अनुभव र सोचले सीमा देखाउँछ।
एकले बाटो खोल्छ, अर्कोले मार्ग सुरक्षित गर्छ।
कसैले नयाँ प्रविधि ल्याउँछ,
कसैले सामाजिक मूल्यको आधार खोज्छ ।
कसैले क्रान्तिको ध्वनि सुनाउँछ,
कसैले इतिहासको सम्झना सुनाउँछ।
राष्ट्रको प्रगति त्यहीँबाट जन्मिन्छ
जहाँ धैर्य र जोश, अनुभव र नवीनता हातेमालो गर्छन्।
यदि केवल
युवा मात्र भए—समाज आगोमा जल्नेछ,
तर स्थिरता हराउनेछ।
यदि केवल बृद्ध मात्र भए—
समाज स्थिर देखिन्छ,
तर विकासको गति सुस्त हुनेछ।
सन्तुलनले मात्र शक्ति ल्याउँछ,
विरोधले मात्र चेतना,
सहकार्यले मात्र प्रगति गर्छ ।
लोककल्याणकारी क्रान्ति
त्यहीँ सम्भव हुन्छ,
जहाँ हरेक विचार, हरेक पीढी,
हरेक ऊर्जा मूल्यवान हुन्छ।
युवा जसले पुरानो चुनौतीलाई तोड्न खोज्छ,
बृद्ध जसले नयाँ उत्साहलाई
दिशा दिन्छ।
उनीहरूको मेलमा मात्र राष्ट्रको भविष्य उज्यालो हुन्छ।
संसारले
देखाएको छ—
त्यो राष्ट्र मात्र
उन्नत हुन्छ
जसले नविनता र परम्पराको सन्तुलन गर्छ।
जहाँ युवा ऊर्जा
र साहसले समाजलाई झक्झकाउँछ,
र बृद्ध अनुभवले तानेको डोरले मार्ग देखाउँछ।
यस्तो राष्ट्रमा असन्तुलनको डर कम हुन्छ,
विकासको गति स्थिर हुन्छ, र परिवर्तनको पथ सुरक्षित हुन्छ।
यसैले,
इतिहासमा नभएको कुरा अपेक्षा गर्नु
मूर्खता हो—
केवल युवा वा केवल बृद्धको शक्ति पर्याप्त छैन।
वास्तविक परिवर्तन संस्थागत, सांस्कृतिक, र सहअस्तित्वमा
मात्र सम्भव छ।
यो संवाद,
यो मेल,
यो लय—
नयाँ पुस्ताको उत्साह र पुराना पुस्ताको सम्झनाको तालमा चल्नु पर्छ ।
र जब युवा र बृद्ध मिलेर काम गर्छन्,
तब राष्ट्रले वास्तविक क्रान्ति देख्छ।
त्यो क्रान्ति केवल शक्ति मात्र होइन,
तर चेतना, मूल्य, न्याय, र समृद्धिको संगम हुने छ ।
युवा र बृद्धले
साथ दिइरहेको समाज
सदैव स्थिर, सशक्त, र
उज्यालो भविष्यको बाटोमा हुन्छ।
संसारले प्रमाणित गरिसकेको छ—
प्रगति, परिवर्तन, क्रान्ति केवल चेतना र सहयोगको उत्पादन हो।
अगाडि बढ्ने ऊर्जा, पछाडि नियमन गर्ने अनुभव,
उनीहरूको संयोजनले मात्र राष्ट्रको भाग्य उज्यालो बन्ने छ।
युवाको जोश र बृद्धको धैर्यता—
त्यो नै वास्तविक परिवर्तनको मूल मन्त्र हुने छ ।
भद्रपुर, झापा






































