म्याग्दी। परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन यहाँको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइएको छ । 

शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चैबाजा बजाउने तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए । उनीहरुलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका परिचालक सीता कुँवर थापाले बताउनुभयो ।  

विवाह, ब्रतबन्ध, छेवरलगायत शुभकार्यमा पञ्चैबाजा बजाउन बाहिरदेखि वाद्यवादक ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन वृद्धिका लागि पञ्चैबाजा बजाउने तालिम सञ्चालन गरिएको सिकाई केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताउनुभयो । 

सो तालिमका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले एक लाख ७० हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो । पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश हुन्छन् । 

सिप सिकेकालाई व्यावसायिक रूपमा बाजा बनाउने पेसामा आबद्ध गराउन एक सेट बाजा पनि उपलब्ध गराइएको वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।