काठमाडौं— पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि अर्थ मन्त्रालयले उच्च तहका पदाधिकारीहरूको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार अब सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरूले मासिक ७० लिटर इन्धन मात्र पाउनेछन् भने सहसचिवहरूका लागि यो सीमा ५० लिटर कायम गरिएको छ। यसअघि सचिवहरूले १२५ लिटर र सहसचिवहरूले १०० लिटर इन्धन सुविधा पाउँदै आएका थिए।

त्यसैगरी, केन्द्रीय कार्यालयअन्तर्गत सञ्चालनमा रहेका सवारी साधनहरूमा समेत इन्धन आपूर्ति घटाइएको मन्त्रालयले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्ति अस्थिरताको प्रभावलाई मध्यनजर गर्दै सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।