काठमाडौं— अबदेखि ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। बिक्रम तिमिल्सिनाले अबदेखि ट्रायल पास भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने जनाएका हुन् ।

काभ्रेको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पुगेर लाइसेन्स छपाईको अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।

उनले ट्रायल पास गरेको वर्षौंसम्म पनि लाइसेन्स नपाउने अवस्थाको अन्त्य भएको र अब ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स प्रिन्ट गरी हस्तान्तरण गरिसक्ने व्यवस्था कार्यान्वयन भएको बताएका छन् । 

त्यस्तै, सञ्चारमन्त्री तिमिल्सिनाले हालसम्म छाप्न बाँकी रहेका सबै लाइसेन्स असार मसान्तभित्र छापिसक्ने पनि बताएका छन् । उनले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रुपमा विकास गरिनुपर्नेमा पनि जोड दिएका छन् ।