ओखलढुंगा— जिल्लाको खिजिदेम्बा गाउँपालिका–२, रगनीमा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले संघीय सांसद विश्वराज पोखरेलप्रति भएको असमझदारीलाई लिएर क्षमा याचना गरेको छ।

२०८३ साल वैशाख १० गते  दिन विद्यालयको समस्या र शैक्षिक गतिविधिको जानकारी लिन पोखरेल पूर्व निर्धारित कार्यक्रम अनुसार विद्यालय पुगेका थिए।

सोही समयमा विद्यालयका प्रधानाध्यापक सन्त बहादुर मगर विद्यालयका मागपत्र र समस्याहरू तयार गर्ने कार्यमा व्यस्त रहेको र संसद पोखरेल विद्यालय परिसरमा प्रवेश गरेको जानकारी समयमै प्राप्त नहुँदा केहीबेर ढिलाइ हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।

​विज्ञप्तिमा भनिएको छ, ‘प्रधानाध्यापक मागपत्रसहित स्वागतका लागि कार्यालय बाहिर निस्कँदा सांसद पोखरेल छोटो समयमै विद्यालयबाट बाहिरिन लागेको लाग्नु भएको थियो। त्यसपछि हतारहतार बाहिरी गेटमा पुगेर उहाँलाई भेटी स्वागत गरिएको र माननीयज्यूको अभिव्यक्तिप्रति मनन गर्दै प्रधानाध्यापकले क्षमा मागेर मागपत्र पेश गर्नुभएको थियो।’  

पछि विद्यालयको कार्यालयमा गई विविध पक्षमा सौहार्दपूर्ण छलफल भएर  टोली बिदा भएको भए तापनि उक्त घटनाबाट सांसद पोखरेललाई मान मर्यादामा पर्न गएको आघातप्रति विद्यालय परिवारले पुनः औपचारिक रूपमा क्षमा मागेको छ।

विज्ञप्तिमा विद्यालयका अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरको हस्ताक्षर रहेको छ।

675001955_1282270754048426_489237376705955488_n_1kOwrO4deI