-देवेन्द्र के ढुङगाना 

भद्रगोल छ, 

कांग्रेस—

रामराम भन, साथीहरू हो— भित्रैबाट ढलेको घरको धुलो 

अझै उडिरहेछ।

विचारको 

माटो चर्कियो, 

बीउ रोप्ने हातहरू आफ्नै --

छायाँसँग डराए, सपना सुक्दै गए कागजका भाषणभित्र।

गुटका झण्डा फरफराए, 

तर आत्मा नाङ्गिय आत्मसम्मानको चिहानमा 

फूल होइन, काँडाहरू रोपिए, रगतले लेखियो “हामी नै सही” को खोक्रो नारा।

एक अर्काको काँधमा उभिएर आकाश छुन खोज्नेहरू 

भुइँको

धर्को बिर्सिए,

 र त्यो धर्को—जनताको विश्वास— आज 

चिरा परेको छ, निसास्सिएको छ, टुक्रिएको छ।

बिद्रोहको आगो पहिले त

 धिपधिप बल्यो, अहिले सल्कियो— कागज होइन, अन्तरात्मा जल्दैछ। धुवाँले ढाकेको सत्य अन्ततः चिच्यायो— “बस्! अब धेरै भयो।”

मुठ्ठी कसिएको छ, तर दिशा

 हराएको छ, सडकमा आवाजहरू छन्, तर सुन्ने कान छैन

न्नेतृत्वको नाममा खोक्रा कुर्सीहरू एकअर्कासँग टकराइरहेका छन्।

यो दल होइन अब, घाउहरूको 

संग्रह हो— 

जहाँ प्रत्येक गुट आफ्नै पीडा बोकेर अरूलाई 

दोष दिन्छ,

 तर ऐनामा हेर्दैन।

साथीहरू हो,

 राख हुन मात्र बाँकी छ अब— 

तर त्यो राखभित्र अझै केही चिसा अँगाराहरू छन्, जसले ---

सोधिरहेका छन्— “के हामी फेरि जल्न सक्छौं? 

के हामी सत्यसँग उभिन सक्छौं?”

यदि हिम्मत छ भने, पहिले आफूलाई हराउनु पर्छ— अहंकारको किल्ला ढाल्नुपर्छ, 

झुटका स्तम्भहरू भत्काउनुपर्छ, 

र नयाँ ढाँचामा विश्वास 

फेरि गढ्नुपर्छ।

नत्र— यो आगो सबैथोक सँगै लिएर खरानी बनाउनेछ, इतिहासले लेख्नेछ“तिनीहरू आफैंलाई नै हराए।”

भद्रगोल छ, हो—तर अन्त्य होइन, यो चेतावनी हो— कि विनाशको बाटोबाट फर्किन अझै एक पाइला बाँकी छ।

भद्रपुर -८, झापा