चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डमा मंगलबार बिहान भएको सवारी दुर्घटनाले फेरि सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। भरतपुर महानगरपालिका–२९ दासढुंगामा म्याजिक र स्कार्पियो एकआपसमा ठोक्किँदा २० महिनाका बालकसहित ८ जना घाइते भएका छन्।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको म्याजिक र विपरीत दिशातर्फ जाँदै गरेको स्कार्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका हुन्। घाइतेमध्ये एक जना २० महिनाका बालक पिन्स आले पनि रहेका छन्। दुर्घटनामा महिला, पुरुष र बालबालिका गरी आठ जनाले चोट बोकेका छन्।
सबै घाइतेको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ। दुर्घटनापछि प्रहरीले दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहे पनि तीव्र गति, लेन अनुशासन वा सडक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































